सर्बोच्च शिखर सगरमाथा सम्बन्धि केहि जानकारी

सारांशमा :

  • सन् १९२२ मा सगरमाथा आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी ७ जना शेर्पाहरूको मृत्यु भएको थियो।
  • सगरमाथाको पहिलोपटक सफल आरोहण गरेयताको ६७ वर्षमध्ये १६ वर्ष कोही पनि सगरमाथाको चचुरोमा पुग्न सकेको छैन।
  • सगरमाथाको सफल आरोहण गर्नेमा सबैभन्दा ठूलो सङ्ख्या नेपालीको छ। हालसम्म सफल आरोहण गर्नेमध्ये आधाभन्दा बढी नेपाली रहेका छन्। 
सगरमाथा

पूरा पढ्नुहोस्

काठमाडौँ। नेपाल र चीनले छिट्टै विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको नयाँ उचाइ घोषणा गर्दै छन्। दुवै देशको टोलीले सगरमाथाको उचाई पुनः मापन गरिसकेका छन्, जसको घोषणा मात्र गर्न बाँकी रहेको छ।

हिउँको उचाइसमेत जोडेर सगरमाथाको नयाँ उचाइ घोषणा गर्न चीन सहमत भएपछि दुवै देशले सँगै उचाइ घोषणा गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताउँदै आएकी छन्। अहिले कूटनीतिक माध्यमबाट घोषणाको मिति तय गर्न दुवै देश लागिरहेका छन्।

“सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा घोषणा गर्ने सहमति पहिले नै भएको हो। सोही सहमतिअनुसार घोषणाको मिति तय गर्न कूटनीतिक प्रयास भइरहेको छ। अहिले घोषणाको मिति टुङ्गो लागिसकेको छैन,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले देखापढीसँग भनिन्।

संसारकै सबैभन्दा अग्लो ८८४८ मिटर हिमाल आरोहण गर्ने पहिलो प्रयास सन् १९२१ मा भएको थियो। विभिन्न अध्ययनले सोहीबेला सगरमाथा चढ्ने बाटो पत्ता लागेको देखाएको छ। आउँदो वर्ष सगरमाथा आरोहण प्रयासको १०० औँ वर्ष पुग्दै छ। सम्भवतः उक्त वर्षसम्म सगरमाथाले नयाँ उचाइ पनि प्राप्त गर्नेछ। 

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टिनेयरिङ्ग इन नेपालः फ्याक्ट्स एण्ड फिगर्स २०२०’ रिपोर्टअनुसार हालसम्म ६,५०७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। सगरमाथाको सफल आरोहण गर्नेमा ४७१ महिला र ६,०३६ जना पुरुष छन्। 

सगरमाथाको पहिलोपटक सफल आरोहण सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले गरेका थिए। सगरमाथाको पहिलोपटक सफल आरोहण गरे यताको हालसम्म ६७ वर्षको अवधिमा ६,५०७ जनाले आरोहण गरेका हुन्। 

सगरमाथा आरोहण गर्ने क्रममा थुप्रैले ज्यान गुमाएका छन्। तर अहिलेसम्म सगरमाथा चढ्दा तथा चढेर फर्कने क्रममा कति जनाको मृत्यु भयो भन्ने तथ्याङ्क भने भेटिँदैन।

“सगरमाथा चढ्ने बाटो पत्ता लागेर आरोहण सुरु गरेको नै १०० वर्ष पुग्न लाग्यो। यो लामो अवधिमा सगरमाथा आरोहणका क्रममा कतिको मृत्यु भन्ने तथ्याङ्क हामीसँग छैन। तर पछिल्ला वर्षहरूको तथ्याङ्क भने भेटिन्छ,” पर्यटन विभागकी निर्देशक मिरा आचार्यले देखापढीसँग भनिन्।

सन् १९२२ मा सगरमाथा आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी ७ जना शेर्पाहरूको मृत्यु भएको थियो, यो नै सगरमाथा आरोहणका क्रममा रेकर्ड गरिएको पहिलो मानव मृत्यु हो। सगरमाथा आरोहणको पहिलो प्रयास भएको ३२ वर्षपछि सन् १९५३ मा तेन्जिङ र एडमण्डले सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए। विभागका अनुसार सगरमाथा आरोहण गर्दाका यस्ता ४२ वटा रेकर्ड अहिलेसम्म कायम भइसकेका छन्।

सगरमाथाको पहिलोपटक सफल आरोहण भएयताको ६७ वर्षमध्ये १६ वर्ष कोही पनि सगरमाथाको चचुरोमा पुग्न सकेको छैन। बाँकी ५१ वर्ष भने कसै न कसैले सगरमाथाको सफल आरोहण गरेको भेटिन्छ।
 
एकै वर्ष सबैभन्दा बढीले सन् २०१९ मा सगरमाथाको सफल आरोहण गरेका थिए। उक्त वर्ष ६४३ जना सगरमाथाको चुचुरोमा पुगेका थिए। एकै वर्ष सबैभन्दा कम जनाले सगरमाथाको सफल आरोहण सन् १९५३ र १९७७ मा दुई–दुई जनाले गरेका थिए। 

‘माउन्टिनेयरिङ्ग इन नेपालः फ्याक्ट्स एण्ड फिगर्स, २०२०’ मा उल्लेख भएअनुसार हालसम्म सगरमाथाको सफल आरोहण गर्नेहरूमध्ये आधाभन्दा बढी सन् २०१० पछि गर्नेहरू छन्। सन् २०११ देखि २०२० अक्टोबरसम्म एक दशकको अवधिमा ३,४४९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्।

हालसम्म विश्वका ८४ भन्दा बढी देशका नागरिकले सगरमाथाको सफल आरोहण गरेका छन्।

आरोहण गर्ने सबैभन्दा बढी नेपाली 

पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथाको सफल आरोहण गर्नेमा सबैभन्दा ठूलो सङ्ख्या नेपालीको छ। हालसम्म सफल आरोहण गर्नेमध्ये आधाभन्दा बढी नेपाली रहेका छन्।

सन् १९५३ यता हालसम्म ३,४४० भन्दा बढी नेपालीले सगरमाथाको सफल आरोहण गरेका छन्। नेपालीपछि सगरमाथाको सफल आरोहण गर्ने ठूलो सङ्ख्या अमेरिकीहरूको छ। हालसम्म ६२५ जनाभन्दा बढी नेपालीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

सगरमाथाको सफल आरोहण गर्ने तेस्रो ठूलो सङ्ख्या भारतीयहरूको छ। हालसम्म ४०८ जनाभन्दा बढी भारतीयहरूले सगरमाथाको आरोहण गरिसकेका छन्।

हालसम्म नेपालबाट सगरमाथको सफल आरोहण गर्नेमा न्युजिल्याण्डका २३, स्वीट्जरल्याण्ड ३६, चीनका १८९, क्यानडाका ११२, रुसका ५२, जापानका १३६, इटालीका ३४, बेलायतका २३८, कोरियाका १९०, अष्ट्रेलियाका ७६, जर्मनीका ५४, फ्रान्सका ५८, अष्ट्रियाका २३, पोल्याण्ड २२, युगोस्लाभियाका ११, स्पेनका ६९, बुल्गेरियाका ६, नेदरल्याण्ड्सका १९, चेकोस्लाभाकियाका ३ र नर्वेका ४२ जना छन्।

यस्तै, मेक्सिकोका ३६, स्वीडेनका १५, बेल्जीयमका १०, हङकङका ९, चिलीका २७, लक्जेम्वर्गका १, पेरुका ५, फिनल्याण्डका १७, भेनेज्युअलाका ३, अर्जेन्टीनाका १९, कजाकास्तानका २, डेनमार्कका १०, स्वीडेनका १५, दक्षिण अफ्रिकाका १७, इजरायलका ४, आयरल्याण्डका ३, ताइवानका ७, हंगेरीका ५, इरानका २३, पाकिस्तानका ५, ब्राजिलका २४ जनाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। 

सगरमाथा आरोहण गर्नेमा बोलिभियाका ३, इस्टोनियाका २, इण्डोनेसिया ९, डोमिनिकन रिपब्लीकका २, बंगलादेशका ४, चेक रिपब्लीकका ३, जर्जियाका ७, इक्वेडरका ७, मंगोलियाका ५, सिंगापुरका २२, लाट्भियाका ३, मलेसियाका २२, साउदी अरेबियाका ३, युनाइटेड अरब इमिरेट्सका ८, पोर्चुगलका ३, मोरक्कोका ३, श्रीलंकाका २, युक्रेनका ७, थाइल्याण्डका २, आइसल्याण्डका ११, कोसोभाको ५, ग्रीसका १०, रोमानियाका ३, लेबनानका ५ र इजिप्टका २ जना छन्।

तान्जानिया, कोस्टारिका, एन्डोरा, ट्युनिसिया, नामिबिया, बहामस, कतार, ओमान, उरुग्वे, सिरिया, बोस्नीया-हर्जगोभिना, ताइपेइ, स्लोभाकिया, प्यालेस्टाइनका र साइप्रसका एक-एक जनाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। यीबाहेक अन्य देशका केहीले पनि सगरमाथा आरोहण गरेका छन्।

Published by Tangi Entertainment

छ्याजलो,दर्शन नमस्ते 🙏 यो Tangi Entertainment साईटमा यहाँहरु सबैलाई हार्दिक स्वागत छ 🙏

Leave a comment

Design a site like this with WordPress.com
Get started